फिल्म । निकिता चण्डक पहिलो मिस नेपाल थिइन्, जसले मिस नेपाल भइसकेपछि अभिनय आफ्नो रुचि भएको घोषणा गरेकी थिइन्। तर, निर्माताले उनको त्यो रुचिलाई ढिलो मात्र सम्झिए। वर्षा शिवाकोटीले छाडेपछि निर्माताले उनलाई ‘रानीमहल’का लागि सम्झिए। तर, फिल्म पूरा हुनै पाएन।
यसपछि उनले फिल्म खेल्ने अफर पाइन्, विराज भट्टबाट। उनले नाइँनास्ति गर्ने कुरै थिएन। निकिताले विराजसँग ‘साङ्लो’ खेलिन्, जुन आउँदो माघ २४ मा प्रदर्शन हुँदै छ। केही दिनअघि मात्र यसको गीत सार्वजनिक भएको छ। उनले फिल्म खेल्ने कुरा गर्दा कसैले पनि गम्भीरतापूर्वक लिएका थिएनन्। फिल्म खेलिसकेपछि पनि उनले के गतिलो काम गरिन् होला र ?
भन्ने धेरैको बुझाइ थियो। तर, पहिलो गीत सार्वजनिक भएसँगै धेरैले निकिताको कामको प्रशंसा गरेका छन्। गीतमा उनले देखाएको ‘अदा’ले फिल्ममा पनि उनले राम्रै काम गरेको चर्चा हुन थालेको छ। गीतमा त निकिताले प्रभाव देखाएकी छिन्। अब फिल्म हेर्नु छ। (सम्पूर्ण साप्ताहिकबाट)










