‘माया हिरिक्कै’ मा पल र सुनिता

फिल्म । लोकप्रिय सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक गरिएको छ। गीतमा नवराज पन्तको शब्द र बसन्त थापाकै संगीत रहेको छ भने संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका छन्।

गम्भीर विष्टको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा अभिनेता पल शाह फिचर्ड छन्। पलसँगै गायिका सुनितामी परियार स्वयंले पनि अभिनय गरेकी छन्। पवन सुस्लिङको टिमले छायांकन गरेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी प्रशान्त मगरले गरेका छन्। शुक्रबार साँझ सार्वजनिक गरिएको गीतको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण टिमले जनाएको छ।

गायिका सुनितामी परियारले आफ्नो नयाँ लोकलयको गीत दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी रहेको बताएकी छन्। उनले २०६६ सालमा ‘भिरमा लर्क्यो खर’ गीतमार्फत संगीत यात्रा सुरु गरेकी थिइन्। हालसम्म उनले झण्डै ९ सय गीतमा स्वर दिइसकेकी छन्।

कमेन्ट गर्नुहोस्