फिल्म । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । हमालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको बताइन्छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरिएको हो ।
सोमबार क्यानबेरामा हमालसँग फ्यानको ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संकलित रकम बाढीपीडितको सहयोगमा प्रदान गरिएको हो ।
यसैगरी, सेप्टेम्बर ५ मा क्वीन्सल्यान्डको उत्तरी सहर केर्न्स र सेप्टेम्बर ९ मा ब्रिसबेनमा हमालसँग थप दुई ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना हुँदैछन् । ती कार्यक्रमबाट संकलन हुने रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने जनाइएको छ। यी सबै कार्यक्रम ‘८८४८ मःम हाउस’को आयोजनामा भइरहेका हुन् । हमाल सेप्टेम्बर १० मा नेपाल फर्किने कार्यक्रम रहेको छ ।










