प्रदर्शकसँग सहकार्य गरेर ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन गरिने

फिल्म । नेपाल चलचित्रको प्रदर्शन वितरकमार्फत गरिन्छ । अर्थात् चलचित्र निर्माताले वितरकसँग सम्झौता गरेपछि वितरककै कम्पनीमार्फत प्रदर्शकसम्म चलचित्र पुग्छ । तर, यो प्रक्रियाबाट आफू र आफ्नो चलचित्र अन्याय परेको भन्दै निर्माता तथा निर्देशक सुवर्ण थापाले विक्रम संवत २०७९ को भदौमा प्रदर्शन गरिएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ चलचित्र भवनबाट उतारे ।

सो वितरणमा विभेद भएको आरोप लगाउदै प्रदर्शनको साता नबित्दै चलचित्र भवनबाट उतारिएको संवत यो पहिलो चलचित्र थियो । एक वर्षपछि यो चलचित्र पुनः प्रदर्शन गर्ने तयारी गरिएको निर्देशक थापाले जानकारी दिए ।

‘चलचित्रलाई नियमित प्रदर्शन भन्दा पनि सिमित सो र सहरमा प्रदर्शन गर्ने तयारीमा छौं । दर्शकसम्म पुग्न प्रदर्शकसँग सहकार्य गरेर चलचित्र प्रदर्शन गर्दैछौँ’, निर्देशक थापाले भने,‘नेपालमा दर्शकसम्म पुग्न निर्माताले प्रदर्शकसँग सहकार्य गरेर चलचित्र प्रदर्शन गर्न सकिन्छ भन्ने हाम्रो सोच छ । विश्वभर चलचित्र सम्बन्धी महोत्सवमा छनौट र पुरस्कृत भइरहेको चलचित्र विभेदकै कारण हामीले उतार्नु परेको थियो ।’

वितरक नभई सिधै प्रदर्शकसँग सहकार्य गरेर चलचित्र पुनः प्रदर्शनको योजना बनाएका निर्देशक थापालाई सहज भने यसपटक पनि छैन । सोही मितिमा ‘नाङ्गो गाउँ’ र ‘भागवत गीता’ प्रदर्शन हुने तयारीमा छ । यी दुई चलचित्र दर्शक माँझ प्रतीक्षित छन् ।

निर्देशक थापाले अन्य चलचित्रको प्रदर्शन बारे आफूलाई जानकारी नरहेको बताए । उनले भने,‘पुनः प्रदर्शन गर्न लगिएकोले भिन्न तरिकाले आउने तयारी छ । अन्य नियमित प्रदर्शन जस्तो हुँदैन ।’ नियमित प्रदर्शनमा ‘द सेक्रेट्स अफ राधा’ ले छ लाख ५० हजार ८२ रुपैयाँको व्यापार गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरमा उल्लेख छ । उक्त विवरण अनुसार चलचित्रलाई दुई हजार ३ सय ३७ जनाले हेरेका थिएँ ।

बेपत्ता श्रीमान्को खोजीमा सङ्घर्षरत महिलाको कथामा आधारित चलचित्र आउँदो भदौको अन्तिम साता पुनः प्रदर्शन गर्न लागिएको छ । चलचित्रमा सौगात, मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखक आदि कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्