देश । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१ का लागि ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ र ‘प्रादेशिक प्रतिभा पुरस्कार’ को घोषणा गरेको छ । यस वर्ष हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ लगायत एक दर्जनभन्दा बढी कलाकार तथा स्रष्टाहरू सम्मानित हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले संस्कृति र सङ्गीत तथा नाट्य गरी दुई मुख्य विधामा विभिन्न पुरस्कारहरू सार्वजनिक गरेको हो । संस्कृति विधामा ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ डा. सोमबहादुर धिमाललाई प्रदान गरिने भएको छ। यस्तै, ‘प्रादेशिक प्रतिभा पुरस्कार २०८१’ कमलजंग राई (कोशी प्रदेश), शीतल गिरी (मधेश प्रदेश), तारदेबी सुनुवार (बागमती प्रदेश), भक्तिप्रसाद शर्मा (गण्डकी प्रदेश), इद्रिश खाँ (इद्रिश सायल- लुम्बिनी प्रदेश), मोतिराज बम (कर्णाली प्रदेश), देवेन्द्र प्रसाद भट्ट (सुदूरपश्चिम प्रदेश) सम्मानित हुने भएका छन् ।
सङ्गीत तथा नाट्य विधामा ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ राजेन्द्र बहादुर शाह (राजेन्द्र शाह वि.पी.) लाई प्रदान गरिने भएको छ । यस्तै, ‘प्रादेशिक प्रतिभा पुरस्कार २०८१’ विपिन किरण पौडेल (कोशी प्रदेश), शिवशंकर प्रसाद रिजाल (जोगिन्दर – मधेश प्रदेश), सुदेशराज शर्मा (बागमती प्रदेश), दिया मास्के (गण्डकी प्रदेश), उदिराम खड्का (लुम्बिनी प्रदेश), तिलक परियार (कर्णाली प्रदेश ), प्रकाशबहादुर थापा (सुदूरपश्चिम प्रदेश) सम्मानित हुने भएका छन् ।
मन्त्रालयले विभिन्न क्षेत्रमा रहेका प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्दै नेपालको कला, संस्कृति र सङ्गीतको विकासमा योगदान पुर्याउने उद्देश्यले यी पुरस्कारहरू घोषणा गरेको जनाएको छ ।