बाग्लुङमा देखाईयो ‘परदेशी २’

फिल्म । गायकमा सफल भएर अभिनयमा पाईला टेकेका प्रकाश सपूत अभिनित फिल्म ‘परदेशी २’ बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो । निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकी अधिकारीसहित सञ्चारकर्मीको उपस्थितिमा प्रथम प्रदर्शनी गरियो । प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बागलुङमा सिनेमाको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । बागलुङ नगरलाई छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने बताए ।

आफुले अभिनय गरेको पहिलो फिल्म गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउँदा निकै खुशी लागेको गायक सपुतले बताए । नारायण रायमाझी निर्देशित सिनेमा आगामी असोज २६ गतेबाट नेपालसहित विदेशका विभिन्न ठाउँमा रिलिज हुँदैछ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा प्रकास र केकीका अलवा नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको सिनेमामा गीतकार तथा संगीतकार रमेश विजीको कथा लेखन छ । सिनेमाले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन आएको परदेशी पनि वैदेशिक रोजगारीको कथामा आधारित थियो । त्यसबेला यो सिनेमा बक्सअफिसमा सुपरहिट भएको थियो ।

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । सिनेमालाई डिसिएन र एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्