फिल्म । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।
२८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको हल हो । वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कुल सात हलबाट भत्काएर तीन अडिटोरियम मात्र बाँकी थियो । बाँकी दुईवटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।
नेपाली फिल्म निर्माताका लागि गोपीकृष्ण राम्रो कमाइ दिने स्रोत पनि थियो । प्रत्येक शुक्रबार र शनिबार गोपीकृष्णको बाल्कोनीमा पुगेर कलाकारले दर्शकलाई अभिवादन गर्थे । फिल्मवृत्तमा यो हलको प्रभाव यतिसम्म थियो कि कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने निर्धारण यो हलको कलेक्सनले गर्थ्यो । नेपाल चलचित्र संघका अनुसार अहिले नेपालभर डेढ सय जति मात्र हल छन् ।