मन्त्रीदेखि सांसदले हेरे ‘परदेशी २’

फिल्म । प्रदर्शनरत फिल्म ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरुले फिल्म हेरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले हलमा पुगेर फिल्म ध्यानपूर्वक हेरे ।

हलबाट निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले विषयवस्तुले मन छोएको बताए । ‘नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरे’ उनले भने । एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूले देखेका कुरालाई नै उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ‘फिल्ममार्फत धेरै ठूलो सन्देश समेत दिनुभएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले फिल्म राम्रो बनेको भन्दै खुशी लागेको बताइन् । ‘समग्रमा अत्यन्तै राम्रो बनेको रहेछ । यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुशी लाग्यो’, सांसद गौतमले भनिन् ।

एमालेका सांसद गैरेले आमाबुवाको देशप्रतिको आशा के हो ? आफ्नो समाजप्रतिको अपेक्षा के हो ? बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई फिल्मले जिवन्त ढंगले उजागर गरेको बताए । ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जीन्दगी भोगिरहेका छन् भन्ने कुरालाई देखाएको छ’ उनले भने, ‘हाम्रो नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले बुलन्द गरेको छ ।’

निर्माता एवं निर्देशक अशोक शर्माले कथा बलियो रहेको बताए । गायक शम्भु राईले आफ्नो माटो, संस्कृति, संस्कार बोलेको भन्दै प्रसंशा गरे । विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत उपस्थित थिए ।

निर्देशक रायमाझीले प्राप्त प्रतिक्रियाले एकदमै खुशी लागेको बताए । ‘फिल्म समाजको दर्पण हो भनेर हामीले सधै भन्ने गरेका छौं । यो हामीले बनाएको भन्दा पनि हाम्रो समाजको यथार्थ कथा हो । सम्पूर्ण टिमको संयुक्त प्रयासले राम्रो भएको हो’ रायमाझीले भने, ‘मन पराउनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छौं ।’

असोज २६ गतेबाट प्रदर्शनमा आएको ‘परदेशी २’ शुक्रवारबाट चौथो सातामा प्रवेश गर्दैछ । यसमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्