यस्तो बन्यो ‘झिँगेदाउ २’को टिजर

फिल्म । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी–जेठानीबीचको मनमुटाव तथा घरभित्रको द्वन्द्वलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुवातमै हिउँवाला गौतमले मध्यरातमा घर छाडेको दृश्य देखाइएको छ भने त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्दै हिँडेको देख्न सकिन्छ।

निर्माण टिमले टिजरमार्फत पहिलो श्रृंखलाको कथावस्तुको झल्को दिने प्रयास गरेको छ। साथै, केही नयाँ मोड पनि समेटिएको छ। विशेषगरी अभिनेता आर्यन सिग्देल साङ्लोले बाँधिएको अवस्थामा देखिएकाले कथामा नयाँ रहस्य र ट्वीस्ट आउने संकेत गरेको छ।

यो फिल्म सफल फिल्म ‘झिँगेदाउ’ को सिक्वेल हो। फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन्। फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका हुन्।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा, नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुति रहेको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ।

फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन तथा ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ। फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ।

टिजर सार्वजनिक कार्यक्रममा उपस्थित अधिकांश फिल्मकर्मीले यसको प्रशंसा गर्दै पारिवारिक कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्। यसअघि ‘झिँगेदाउ’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो भने यसको सिक्वेलले पनि दर्शकको राम्रो साथ पाउने निर्माण पक्षको अपेक्षा छ।

कमेन्ट गर्नुहोस्