फिल्म । आगामी मङ्सिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ को प्रचारप्रसारलाई व्यापक बनाउन निर्माण टिम लागि परेको छ । यसै क्रममा अष्ट्रेलियामा बसोबास गर्दै आएका फिल्मका मुख्य कलाकार (नायक र नायिका) नेपाल फर्किएका छन् । एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले फिल्मका नायक आर ए सुरज पौडेल र नायिका विनिता कार्कीलाई लिएर नेपाल फर्किएका हुन् । निर्देशक बस्नेतले फिल्मलाई थप उचाइमा पुर्याउनका लागि नायक-नायिकालाई लिएर नेपाल फर्किएको बताए ।
‘फिल्मलाई दर्शकमाझ पुर्याउन कलाकारको पनि ठुलो हात हुन्छ’, निर्देशक बस्नेतले भने, ‘अब नायक-नायिकालाई नै लिएर नेपाल फर्किएको छु । अब व्यापक रूपमा प्रचारमा लागिन्छ ।’
फिल्मका नायक पौडेलले पनि फिल्मको प्रचारका लागि नेपाल आएको बताए । ‘फिल्मको कलाकार खोजी भइरहेको हामीले अष्ट्रेलियामा पनि सुनेका थियौँ’, उनले भने,’त्यो खोजीले हामीलाई नेपालसम्म तानेको हो ।’
यो फिल्मकी नायिका विनिता कार्कीको यो डेब्यु फिचर फिल्म हो । उनले पनि फिल्मको प्रचार र यहाँका दर्शकसँग भेटघाटका लागि नेपाल आएको बताइन् ।‘फिल्मलाई लिएर निकै उत्साहित छु । अष्ट्रेलियामा भएको विशेष शोमा पनि दर्शकले असाध्यै मन पराइदिनु भएको थियो’, उनले खुसी व्यक्त गर्दै भनिन्, ‘फिल्म रिलिजपछि नेपालका दर्शकले पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वास छ ।’
‘पीआर’मा समावेश गीत ‘टाटा बाई बाई’ यति बेला चर्चामा छ, जसले फिल्मको चर्चा (हाइप) बढाइरहेको छ । फिल्ममा आर.ए सुरज पौडेल र विनिता कार्कीका अलावा नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिने छन् ।
यस फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन् । फिल्म वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ ।












