फिल्म । अभिनेत्री नीता ढुंगानाको निर्देशनसँगै अभिनय रहेको फिल्म ‘पार्वती’ले मनोरन्जनसँगै संदेश पनि दिने बताएकी छिन् । फिल्मको विषयमा कुराकानी गर्दै अभिनेत्री ढुंगानाले फिल्मले ‘अटिजम’ का विषयमा सामाजिक सचेतना फैल्याउने दाबि गरिन् ।
‘यो फिल्म मनोरन्जनमा मात्र सिमित छैन, यसले अटिजम भएका व्यक्तिलाई हेर्ने हाम्रो दृष्टिकोणमा पनि परिवर्तन ल्याउँछ । यसले दिने संदेश सशक्त छ, त्यसकारण अन्य भन्दा फरक छ’, उनले भनिन् । उनले फिल्मका पात्र, परिवेश र कथासँग कनेक्ट भएर दर्शकको आँशु झर्ने पनि बताइन ।
‘हामीले जबर्जस्ती रुवाउन खोजेका छैनौं, यसको पात्रसँग कनेक्ट भएर दर्स्जक आफैँ रुनुहुन्छ’, उनले भनिन् । फिल्मले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । सर्टिफिकेट पाएसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर फिल्म हेर्न पाउने भएका छन् । आगामी भदौ १२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले ‘युनिभर्सल’ सर्टिफिकेट पाएपछि निर्देशक ढुङ्गानाले खुसी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई फिल्म हेर्न आग्रह गरेकी छन् ।
अटिजम भएकी दिदी र भाइबीचको माया तथा स्नेहको कथामा आधारित फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन् । उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको कथा तथा पटकथा निर्देशक नीता ढुङ्गानाकै रहेको छ भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन् ।
यसअघि सार्वजनिक भएका ‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीतले पनि राम्रो चर्चा पाएका छन् । फिल्मका गीतमा बाबुल गिरी र दीपक शर्माको संगीत, हर्क साउद र बाबुल गिरीको शब्द तथा नरेन्द्र वियोगीको संगीत संयोजन र मिक्सिङ रहेको छ । गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।
हरिहर अधिकारी निर्माता रहेको फिल्ममा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर छन् । फिल्मको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।












