अमेरिकामा ‘झिँगेदाउ’

फिल्म । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘झिँगेदाउ’ले विदेशमा प्रदर्शनमा समेत सफलता हात परिरहेको छ । नेपालमा ‘क्लिन हिट’ भएपछि यसको डिमाण्ड डायस्पोरामा बढ्दो छ । फिल्म नत कुनैको सिक्वेल हो , न यसमा ठुला स्टार छन् , निर्देशकले झन्डै ७ वर्ष पश्चात कमब्याक गरेका छन् । यसैले गर्दा फिल्मलाई ‘क्लिन हिट’ भनिएको हो । फ्यामिली अडियन्सहरुको बाक्लो उपस्थिति हलमा देखिएपछि यसलाई अहिले विदेशमा प्रदर्शन गर्ने होडबाजी नै चलेको छ ।

‘फिल्म विदेशमा प्रदर्शन भइरहेको छ । नेपाल झैँ विदेश पनि फिल्मले दर्शकलाई निराश नबनाउने विश्वास छ’ निर्देशक ज्ञानेन्द्र देउजाले भने । उनी आफ्नो फिल्मलाई दर्शकले रुचाएकोमा उत्साहित छन् । ‘मैले यसलाई वर्षौदेखि साँचेर राखेको थिएँ । फिल्म दर्शकले रुचाउँडा खुसी लागेको छ’ उनले भने । फिल्म अमेरिकाका विभिन्न राज्यका मुख्य मुख्य शहरमा प्रदर्शन प्रारम्भ भएको हो । अमेरिकाका टेक्सास, हस्टन, अस्टिन, जर्जिया, ओहायो, क्यालिफोर्निया आदि राज्यका विभिन्न शहरहरुमा यो फिल्मको नियमित प्रदर्शन प्रारम्भ भएको हो ।

बलियो ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापार नेपालमा राम्रो भयो । एक परिवारभित्रको कथामा निर्माण भएको यस फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभय बराललगायतको अभिनय रहेको छ । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ लाई प्रदीप भारद्वाजले पटकथा मार्फत फिल्मको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्