सामाजिक सञ्जालमा ‘जस्टिस फर सारुक’

फिल्म । गत असार २१ मा दिवंगत भएका अभिनेता सारुक ताम्राकारको विषय पछिल्लो समय झनै चर्किएको छ । उनका पिता कलाकार सानु ताम्राकारको गत भदौ ९ गते शनिवार निधन भएपछि फिल्मकर्मीले ‘जस्टिस फर सारुक’ भन्दै सामाजिक सञ्जालमा आफ्नो भावना उल्लेख गरिरहेका छन् । सारुक पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए । सोही क्रममा उनले आत्महत्या गरेका थिए । तर, त्यसो किन गरे ? यो प्रश्नको जवाफ उनका आफन्तसँगै फिल्मकर्मीले खोजेका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उक्त प्रकरणमा भएको विषय छिटै अनुसन्धानबाट टुङ्गो लगाउनु पर्ने बताए । उनले भने,’पुत वियोगमै सानु दाई रहनुभएन । उहाँको आत्माले सारुकले न्याय नपाउँदासम्म शान्ति पाउँदैन । सामाजिक सञ्जालमा अड्कलबाजीमै विभिन्न कुराहरु आइरहेका छन् । त्यसैले पनि यसमा अनुसन्धान गरिरहनुभएका प्रहरीलाई छिटै निष्कर्ष सार्वजनिक गरिदिन आग्रह गर्दछु ।’

उनले कलाकारसँग जोडिएका कुरा भएकाले आफू कसैको पक्ष वा विपक्षमा नभएको प्रस्ट्याउदै कसैलाई अन्याय नहोस भने । यस्तै, सारुककी साथी अभिनेत्री सृष्टी श्रेष्ठले पनि आत्महत्या किन गर्यो ? भन्ने जान्न पाउनु पर्ने बताइन । उनले भनिन्,’हामीलाई जीवन बाच्न सिकाउने साथी किन त्यस्तो गर्न बाध्य भयो । हामीले जान्न पाउनु पर्छ । यो विषयलाई सतहमा पुगेर अनुसन्धान गर्नुहुने छ भन्ने विश्वास मलाई छ । सामाजिक सञ्जालमा सुनिएको जस्तो मिलेमतो हुँदैन भन्नेमा विश्वस्त छु ।’

फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत भावना व्यक्त गरेकी छिन् । उनले आफू अनुसन्धानमा बाधा पुग्ने कारण पनि मौन बसेको जनाएकी छिन् । गतसाता मात्र उनले प्रहरीसँग सम्पर्क गरेर बयान दिएको बुझिएको छ । उनले बयान दिएपछि सामाजिक सञ्जालमार्फत उनले घटनासँग सम्बन्धित जानकारी प्रहरीलाई सोधपुछका क्रममा दिएको जनाएकी छिन् । उनले सोमबारको मितिमा पोस्ट गरेको लेखाईमा दिवंगत कलाकार सानु ताम्राकारको स्वाथ्यलाभको कामना गरेपछि पुनः ट्रोल भएकी छिन् ।

यस्तै, फिल्मकी सहायक निर्देशक शान्ति तामाङ घटनाक्रमको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । विशेषत अभिनेत्री श्रेष्ठको भनाई आएपछि उनले पनि सामाजिक सञ्जालमार्फत छायांकनको समयमा आफूले अनुभव गरेको भावनालाई व्यक्त गरेको जनाएकी छिन् । उनले फिल्मको छायांकन गर्न निर्माण टिमले गरेको प्रयास र कलाकारले दिएको सास्तीको विषयमा लेखेकी छिन् ।

कमेन्ट गर्नुहोस्