फिल्म । चलचित्र पत्रकार संघ , नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला २०७७ सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीबाट जीवन सामान्य तर्फ बढ्दै गर्दा संघले आफ्नो कार्यक्रमलाई अगाडी बढाई रहेको अध्यक्ष दिनेश सिटौलाले बताए । ‘ कोरोनाको महामारी विस्तारै कम हुदै गर्दा हामीले आफ्नो योजनालाई अगाडी बढाई रहेका छौं’ अध्यक्ष सिटौलाले भने ,’तीन दिनमा प्राप्त गरेको सिकाइलाई अनुसासित भएर अनुसरण गर्नुस् ।’ उनले संघको योजना अनुरुप अन्य कार्यक्रमलाई पनि अगाडी बढाउदै लानेमा जोड दिए ।
गत बिहीवारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशालामा ४० बढी फोटो पत्रकारहरु सहभागी थिए । कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका दाहालले क्षमता विकास गर्ने कार्यमा बोर्ड सधै सहकार्य गर्न तयार रहेको समेत प्रस्ट्याए । ‘हाम्रो क्षेत्रलाई अगाडी बढाउन दक्ष जनशक्ति चाहिन्छ र त्यो यस्तै कार्यशालाबाट उत्पादन हुनेछन्’ अध्यक्ष दाहालले भने ,’कोरोनाको महामारी विस्तारै घट्दै गर्दा बोर्डले पनि उपलब्धि मुलक काममा आफुलाई अगाडी बढाउदै लानेछ ।’
यस्तै , कार्यशालाका संयोजक तथा संघका संगठन उपाध्यक्ष कुवेर डंगोलले फोटोग्राफरलाई फोटो पत्रकारितामा ढाल्नको लागि पनि यस्ता कार्यशाला आवश्यक रहेको बताए । ‘हामीले हाम्रो कार्यलाई अनुसाशित र मर्यादित बनाउन पनि कार्यशालाको आयोजना गरेका हौँ’ संयोजक डंगोलले भने ,’हामीले आउँदा दिनमा यस्तै कार्यशालालाई अझै विस्तृत गर्ने छौं ।’
फागुन ६ , ७ र ८ मा चलेको कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनुका साथै आफ्नो अनुभव साटेका थिए । समापन समारोहमा वरिष्ठ चलचित्र पत्रकार विजय रत्न तुलाधरसंगै पत्रकारहरु सुव्रत आचार्य , राजन घिमिरे , कृष्ण भट्टराई , लक्ष्मण सुवेदी , राज श्रेष्ठ , चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको उपस्थिति रहेको थियो । समापन समारोहमा धन्यवाद ज्ञापन संघका कार्यक्रम उपाध्यक्ष जीवनकुमार पराजुलीले गरेका थिए भने कार्यक्रम संचालन महासचिव समीर बलामीले गरेका थिए।










