देश । काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काईवाक टावर संचालनमा आएसँगै उचाईबाट सहर नियाल्ने बढिरहेका छन् । तीन सय ६० डिग्रीमा भ्यूमा काठमाडौँलाई हेर्न त्यहाँ पुग्नेको कमि छैन । विदेश पुग्दा प्राय ठूला सहरमा रहने भ्यू हेरेर नेपालमा त्यो रमाइलो मिस गरिरहेका नेपालीको राम्रै भिडभाड हुन् थालेको छ । काठमाडौँ घुम्न आइपुग्ने अधिकाँस त्यहाँ पुगेको पाइन्छ ।
वन्डर्स नेपाल प्रालिले संचालनको छोटो समयमा नै घुमाईको गन्तव्य बनाउन सफल स्काईवाकमा चाडपर्व लक्षित कार्यक्रम पनि हुने गरेका छन् । यसले त्यहाँ पुग्ने ग्राहकलाई सहरको दृश्यसँगै अन्य गतिविधीले पनि मनोरंजन दिन्छ । यसका साथै अब स्काईवाकसँगै त्यहाँ सांगीतिक प्रस्तुतीको मनोरंजन पनि लिन पाइने भएको छ । आउँदो नयाँ वर्ष सन् २०२४ लाई स्वागत तथा सन् २०२३ लाई विदाई गर्न डिसेम्बर ३१ तारिखमा स्काईवाकमा विशेष कार्यक्रम हुने सीईओ नविन भण्डारीले बताए ।
उनले उक्त दिन विहान बजदेखि बेलुकी १२ बजेसम्म टावर खुल्ने समेत बताए । ‘हामीले विशेष अवसर पारेर स्काईवाक, सङ्गीत र खानपिनलाई जोडेर इभेन्ट बनाएका छौँ । टावरको २५ औँ तल्लाबाट उक्त रात हामी नयाँ वर्षलाई स्वागत गर्ने छौं’, सीईओ भण्डारीले भने ।
कुल ७८.५ मिटर अग्लो स्काईवाक टावरमा १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर सहर नियाल्न सकिन्छ । उक्त दिन अर्थात् डिसेम्बर ३१ मा स्काईवाक पुग्नेले विशेष सरप्राइज पाउने समेत उनले बताए ।
‘हामीले नयाँ वर्ष लक्षित धेरै तयारी गरिरहेका छौं । त्यहिँ कारण पनि उक्त दिन चढ्नेले विशेष सरप्राइजहरू पाउनु हुनेछ । हामीले सेवा सुविधा थप्ने नै छौं’, सीईओ भण्डारीले भने । उक्त अवसरमा गायक कर्णराज गिरीले आफ्नो सांगीतिक प्रस्तुती दिनेछन ।
पछिल्लो समय मेला, महोत्सवमा व्यस्त रहेका गायक गिरीले पहिलोपटक स्काईवाकमा प्रस्तुती दिन लागेका हुन् । उनले माहोल अनुसार आफ्नो प्रस्तुती दिने बताए । ‘मैले केही तयारी गरेको छु । साथै नयाँ वर्षको अवसरमा त्यहाँ आउनु हुनेको मनस्थिति बुझेर आफ्ना प्रस्तुतीहरू प्रस्तुत गर्नेछु’, गायक गिरीले भने । ‘द भ्वाईस अफ नेपाल’ मा सहभागी भएपछि गायक गिरी चर्चामा आएका थिए ।
हाल स्काईवाकमात्रै संचालन गरिए पनि निकट भविष्यमै यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना सीईओ भण्डारीले जानकारी दिए । टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ, जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ । दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि पुग्ने गरेका छन् ।
टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ । स्काइवाकलाई कम्पनीले टिकट दर प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकेको छ । तीन फिटभन्दा कम उचाइका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।












