सकियो निफ

देश । पाँचदिन यता काठमाण्डौमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा सिंगापुरको फिल्म ‘अ ल्यान्ड इमाजिन्ड’ ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भई ‘गौतम बुद्ध अवार्ड’ जितेको छ । सोमबार साँझ आयोजित समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कृतलाई अवार्ड हस्तान्तरण गरे । इओ सिउ हुआ निर्देशित ३० मिनेट लामो उक्त फिल्म सिंगापुर प्रहरीले बेपत्ता मजदुर महिलाको खोजी गरेको विषयलाई उठान गरेको छ । पहिलो हुँदै फिल्मले एक हजार डलरसहित अवार्ड जित्यो । छोटा फिल्मको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ भारत–बंगलादेशको ‘मीन आलाप’ ले उत्कृष्ट छोटो फिल्मको ‘माउन्ट एभरेस्ट अवार्ड’ सहित पाँच सय डलर जित्यो ।

सुवर्ण सेनजुती तुसीको निर्देशन र लेखन रहेको उक्त फिल्मले कुनै सहरमा एकान्तवास रहँदा पात्रको जीवनमा आउने परिवर्तन र आशाको बारेमा उल्लेख गरेको छ । निफको दोस्रो संस्करणमा ३१ देशका ६० फिल्म सहभागी थिए । राष्ट्रिय फिल्महरूको प्रतिस्पर्धाअन्तर्गत नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’ ले उत्कृष्ट फिल्म र निर्देशनको अवार्डसहित ५० हजार रुपैयाँ पनि जित्यो । उत्कृष्ट पटकथाको अवार्ड भने शिवम् अधिकारी निर्देशित ‘पञ्चायत’ ले पायो । छोटा फिल्मतर्फ उत्कृष्ट अवार्ड सेनाङ ग्याम्जो तामाङको ‘सुपर मंक’ लाई दिइयो । तामाङले अवार्डसँगै २५ हजार रुपैयाँ पनि पाए । छोटो फिल्मतर्फको राष्ट्रिय प्रतिस्पर्धामा ‘द मदर’ बाट परिच्छेद सेनले उत्कृष्ट निर्देशक दरिए ।

निर्देशक/कलाकार नीर शाहको संयोजकत्वमा भारतका फिल्मकर्मी प्रेमेन्द्र मजुमदार, बेइजिङ फिल्म एकेडेमीका प्रोफेसर ल्याङ स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच रहेको निर्णायक समितिले बंगलादेशको ‘कोमोला रकेट’ लाई जुरी अवार्ड प्रदान गरेको थियो । छोटो फिल्मको कथा वाचनतर्फ दिवस अमागाईको ‘काशीनाथ’ र सजल लोप्चनको ‘गाइड टु फिल्म फेस्टिभल’ लाई उत्कृष्ट छनोट गर्दै ४० हजार रुपैयाँ अनुदान पुरस्कार दिइयो । महोत्सवको अन्तिम दिन सोमबार चीनको फिल्म ‘अला चाङसो’ प्रदर्शन गरिएको थियो ।

नेपाल भाषाका दुई छोटा फिल्म ‘द मिथ जिरो’ र ‘अस्तित्व’ पनि देखाइएका थिए । महोत्सव अन्तर्गतै पर्यटन बोर्डमा पत्रकार यज्ञशले ‘फिल्म, संस्कृति र राजनीति’ विषयक बहस सञ्चालन गरेका थिए, जसमा नेपाली कांग्रेसका श्याम घिमिरेले फिल्म क्षेत्र विकासका लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने औंल्याए । राजपाकी महासचिव चन्दा चौधरीले फिल्म केवल मनोरञ्जनको साधन वा व्यवसाय मात्रै नभई समाजका लागि पनि भएकोले राज्यले पनि सघाउनुपर्ने तर्क गरिन् ।

कमेन्ट गर्नुहोस्