फिल्म । बौद्धधर्म गुरु तथा प्रख्यात फिल्म निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु)को आगामी फिल्म ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड’ राखिएको यो फिल्मको महिनौँ लामो छायांकन हालै सम्पन्न भएको छ । निर्माताले सार्वजनिक गरेको पहिलो झलकमा अभिनेता कमलमणी नेपाललाई ‘क्यारेक्टर लुक्स’मा देख्न सकिन्छ । उनले हाँकेको मोटरसाइकलको पछाडि निर्देशक नोर्बु सवार छन्।
अर्को तस्बिरमा अभिनेता रविन्द्रसिंह बानियाँ र कमलमणीसँगै निर्देशक देखिएका छन् । नेपाली लेखक सम्राट उपाध्यायको पुस्तक ‘अरेस्टिङ गड इन काठमाडौँ’को छोटो कथा ‘द लिम्पिङ ब्राइड’मा आधारित यो फिल्मले राम नामक पात्रको कथा प्रस्तुत गर्छ । राम एक मध्यम उमेरका बहुरुपिया हुन्, जो काठमाडौँ आसपासका विवाह र भोजहरूमा देवता र अन्य व्यक्तित्वको नक्कल गर्छन् । श्रीमती मायाको अचानक मृत्युपछि रामले ठूलो संकटको सामना गर्छन् । उनको साथमा छ उनका बेरोजगार छोरा मोती, जो महत्वाकांक्षी फोटोग्राफर हुन् ।
यो फिल्म नोर्बुको सन् २०२४ मा अनलाइन डेब्यु भएको ‘पिग एट द क्रसिङ’ र सन् २०१९ मा बुसान अन्तर्राष्ट्रिय फिल्म फिल्म फेस्टिभलमा प्रिमियर भएको ‘द लेडी विथ द फ्याङ्ग्स एन्ड अ मुस्टेच’ पछिको कृति हो । उनको विगतका चर्चित फिल्महरूमा ‘द कप’ (१९९९), जसले टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अडियन्स अवार्ड जितेको थियो, ‘ट्राभलर्स एण्ड म्याजिशियन्स’ (२००३), ‘वारा: अ ब्लेसिङ’ (२०१३) र ‘हेमा हेमा: सिङ मी अ सङ ह्वील आई वेट’ (२०१६) समावेश छन् ।
‘बहुरुपिया’को निर्माण सोफी पक्र्स, षट्कोण आर्ट्सका म्याक्स दिपेश खत्री र तारी रत्न प्रधानले गरेका छन् । भ्यासिली एन्ड्रीभ कार्यकारी निर्माता हुन् । फिल्म षट्कोण आर्ट्सको ब्यानरमा बनेको छ । फिल्मको शीर्षकबारे नोर्बुले आध्यात्मिकतासँग जोडिएको पूर्णताको अवधारणा व्यक्त गरे । उनी एसियाका ६ बौद्ध गुम्बा र संस्थाहरूमा १,६०० भन्दा बढी भिक्षुहरूको हेरचाह र शिक्षाको जिम्मेवारीमा पनि संलग्न छन् । हाल पोस्ट–प्रोडक्सनमा रहेको यो फिल्म सन् २०२६ मा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रिमियर हुने अपेक्षा गरिएको छ ।