फिल्म । नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सकाएका ४० दिनमा सकिएको छ । पहिलो चरण अन्तर्गत ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र दोस्रो चरणमा काठमाडौंमा ४ दिन गरी ४० दिनमा यसको सम्पूर्ण छायांकन सकिएको हो ।
निर्माता विनोद पौडेलले अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने बताएका छन् । यसमा प्रकाश सपूत, माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वयम् केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहेको छ ।










