फिल्म । दसैँमा हल पुग्ने दर्शकलाई लक्षित गर्दै जात्रा र जात्रै जात्रा निर्माण गरेको टिमको फिल्म ‘महापुरुष’ को हल ट्रेलर रिलिज गरिएको थियो । दर्शकबाट राम्रो रेस्पोन्स आइरहदा इन्टरनेट ट्रेलर रिलिज गरिएको छ । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्ट मार्फत इन्टरनेटमा ट्रेलर रिलिज गरिएको हो । हल भन्दा फरक ट्रेलर इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समुहको प्रेमभाव समेत यसमा देख्न सकिन्छ ।
फ्याम्ली ड्रामा मार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयाश गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईले बताए । ‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रुपले देखाउने प्रयाश गरेका छौँ । हामीले फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ । यसलाई स-परिवार बसेर हेर्न सक्नुहुनेछ,’ निर्देशक भट्टराईले भने । फिल्मको मुख्य अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्मबजार बढी नै उतारचढाव देखिएको बताउछन् । उनले अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहनु भएको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए ।
‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ’ अभिनेता आचार्यले भने । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाईदा पुर्याउने उनको बुझाइ छ । अभिनेता आचार्यले निर्देशक प्रदीप भट्टराईसँग टेलीफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसकेका छन् । मह जोडीकै टेलीफिल्महरु मार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाई छ । जात्रा , शत्रु गते र जात्रै जात्राको सफलताले आफू लगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताउछन् ।
सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ , रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् । फिल्मले हामीलाई अभिभावक र उहाँलाई सन्तान प्रति सोच्न बाध्य बनाउने कलाकार बानियाँले बताए । ‘हामीले पूर्ण परिवारलाई हुने फिल्म बनाएका छौँ । यसमा संदेश भएता पनि यो पूर्ण मनोरन्जक छ’, उनले भने । यस्तै दर्शकहरूसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न ‘महापुरुष’ टिमले मोफसल भ्रमण समेत गर्दैछ ।
असोज २५ देखि ३० गतेसम्म मोफसलको सात सहरमा भ्रमण गर्दैछ । ‘मोफसल टुर’ अन्तर्गत असोज २५ मा विर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्रचौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ छन् । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।










