फिल्म । नेपालमा ५१ दिनसम्म प्रदर्शन भएर सफल भएको नेपाली फिल्म ‘होस्टेल ३’ अब भारतमा पनि प्रदर्शन हुने भएको छ । निर्देशक सशान कँडेलको यो फिल्म आगामी सेप्टेम्बर ५ देखि भारतका विभिन्न ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुनेछ ।
भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुर लगायतका क्षेत्रमा रहेका हलमा फिल्म प्रदर्शन हुनेछ। भारतीय गोर्खा समुदायको बाक्लो उपस्थिति र नेपालमा फिल्मले पाएको असाधारण सफलताका कारण भारतमा यसको उच्च माग रहेको बताइएको छ।
भारतमा फिल्मको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन्। यस फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायतका कलाकारहरूको अभिनय छ। क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएको यो फिल्म युवा पुस्तामा निकै लोकप्रिय छ।
फिल्मको लेखन तथा एसोसिएट निर्देशन माधव शर्माले गरेका हुन्। सुरेश कँडेल र गोविन्द अधिकारी निर्माता हुन् भने शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता सह-निर्माता छन्। शङ्कर कोइराला कार्यकारी निर्माता र कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।











