सङ्गीत । गायक दुर्गेश थापाले जापानले भिसा नदिएको भन्ने चर्चाको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका छन् । जापानमा आयोजना हुने ‘नेपाल महोत्सव २०२५’ का लागि उनलाई भिसा नदिएको भन्ने हल्ला गलकोट समाज जापानले प्रचार गरेको थियो ।
दुर्गेशले आफूले पहिल्यै ७ जुन २०८२ मा कुवेतमा हुने कार्यक्रमका लागि सम्झौता गरिसकेको र त्यसलाई प्राथमिकता दिएको बताएका छन् । उनले जापानको आयोजकलाई यो जानकारी दिएको र तत्काल जापान जान सम्भव नभएको उल्लेख गरे ।
‘आयोजकको अनुरोधमा मैले पासपोर्ट दिएँ, तर कुवेत कार्यक्रम नजिकिएपछि पासपोर्टबिना विदेश जान नसक्ने भएकाले ३ दिनमै फिर्ता लिएँ’, उनले लेखेका छन् ।
उनले कुवेतमा आफ्ना दर्शकसँग भेटेर प्रस्तुति दिएको र जापान महोत्सवसँग कुनै सम्झौता, प्रचार वा कार्यक्रम रद्द नगरेको स्पष्ट पारे । ‘भविष्यमा उचित समय र योजनामा जापानका दर्शकसँग भेट्न पक्कै आउनेछु’, उनले थपे । यसैबीच, दुर्गेशको जापान कार्यक्रम रद्द भए पनि विष्णु खत्री र अनिता चलाउने भने उक्त महोत्सवका लागि जापान गएका छन् ।











