‘गाउँ आएको बाटो’ को प्रतिक्रिया लिन हल पुगे दया

फिल्म । ‘गाउँ आएको बाटो’ प्रदर्शन भएसँगै दर्शकसँग प्रतिक्रिया लिन अभिनेता दयाहाङ राई काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेका छन् । निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राईसहितको टोलीले दर्शकसँग साक्षात्कार गरेको हो । बाबुछोराको सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्म हेरेपछि दर्शकले गाउँको कथा हेर्न पाइएको प्रतिक्रिया दिएका थिएँ ।

अभिनेता राईले गाउँले जीवनलाई पर्दामा जीवन्त देखाउन कुनै कसर बाँकी नराखेको बताएका थिए । यो फिल्मले काठमाडौंसँगै पूर्वका हलमा सुखद सुरुवात गरेको छ । दर्शकहरुको राम्रो चाप हलमा देखिएको छ । ‘फिल्म हेरेपछि दर्शक कही न कही जोडिनुभएको छ । दर्शकले आफू कहाँ छु भनेर सोच्न थाल्नु भएको छ । निकै राम्रो प्रतिक्रिया मिलेको छ’, अभिनेता राईले भने ।

‘गाउँ आएको बाटो’ मा पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले एक परिवारमा पारेको असरको कथा देखाईएको छ ।अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् ।

फिल्ममा दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन् । फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । फिल्मको निर्माता अमोद राई र नवीन सुब्बा हुन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्