दुई सय २५ वर्षअघिको कथामा ‘जार’

फिल्म । आउँदो वैशाख २६ मा प्रदर्शन हुने फिल्म ‘जार’ दुई सय २५ वर्ष अगाडिको कथामा आधारित रहेर तयार गरिएको फिल्म हो । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथालाई फिल्म बनाउन पाउँदा आफु उत्साहित रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए ।

‘फिल्मले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउँछ । मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ’, निर्देशक लामाले भने ।

उनले समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्नेमा जोड दिए । उनले ‘जार’ केवल इतिहास सुनाउने माध्यम मात्र नभई, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि रहेको बताए ।

कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन् । यसमा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरु अहिलेका नयाँ पुस्ताले थोरै मात्रै बुझेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको अभिनय रहेको छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ । यसको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्