फिल्म । अभिनेता दयाहाङ राईले ‘दयारानी’ फिल्मको विषयवस्तुले एउटा दम्पतिको कथा चित्रण गरेको बताए । हालै आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले फिल्मको विषय र आफ्नो भूमिकाका बारेमा कुराकानी गरेका हुन् । उनीसँगै पत्रकार सम्मेलनमा अभिनेत्रीदीया पुन र विजय बराल र बाँसुरी फिल्मस्का तर्फबाट मणिराम पोखरेल उपस्थित थिए ।
‘यसको कथा वर्षौंसम्म पनि ताजा रहन्छ भन्ने मलाई लाग्छ । यसको स्वाद फरक छ । यसैले दर्शकलाई पनि फरक लाग्न सक्छ । समाजले सन्तान नहुँदा दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ । तर महिलाले दबाब झेल्नुपर्छ’, उनले भने, ‘सन्तान नहुनुलाई समाजले चासोको रूपमा हेर्छ, त्यो कथा फिल्मले उठाएको छ ।’
अभिनेत्री दीया पुन दयारानीले उठान गरेको विषय धेरै जनाको व्याक्तिगत जीवनसँग मेलखाने बताइन् । ‘यस्ता कथा र समस्यालाई हाम्रो समाजमा म आफैंले देखेकी छु’, अभिनेत्री पुनले भनिन्, ‘नेपाली महिला वास्तवमा अन्य देशकाभन्दा निकै सहनशील छन् भन्ने लाग्छ । सायद विदेशी महिलाले यस्तो समस्या फेस गरेर बस्दैनन् । अहिलेको अवस्थामा समाज विज्ञानका हिसावले पनि निकै एडभान्स भैसकेको छ । बच्चा जन्माउने अनेक प्रविधि बनिसकेका छन् ।’
अभिनेता विजय बरालले समाजमा हरेक खालका व्यक्ति भएकैले समाज र प्रकृति चल्ने गरेको बताए । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्ममा प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।












