‘वरिष्ठ बलराम’ मा कस्तो भूमिकामा छिन् समृद्धि ?

फिल्म । आजदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालसँगै मुख्य भूमिकामा देखिने अभिनेत्री समृद्धि अर्याल हुन् । ‘फर्की फर्की’बाट डेब्यू गरेकी समृद्धिको दोस्रो फिल्म नै यस्ता ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले दर्शकको चासो बढाएको छ ।हङकङमा जन्मिएकी समृद्धिको बाल्यकाल नेपाल र हङकङ दुवैतिर बित्यो । कलाकारिताप्रति रुचि राख्ने उनले मुम्बईको विस्लिङ उड्स इन्स्टिच्युटबाट तीन वर्षको अभिनय प्रशिक्षण लिइन् । त्यसपछि मुम्बईकै मोडलिङ एजेन्सीमा काम गर्दै पिज्जा र जिलेटजस्ता ब्रान्डका विज्ञापनहरूमा मोडलिङ गरिन् ।

विज्ञापन, म्युजिक भिडियो र एक दर्जनभन्दा बढी सर्ट फिल्महरूमा काम गरेपछि ‘फर्की फर्की’को अडिसनबाट नेपाली फिल्ममा प्रवेश गरिन् । त्यसमा उनले अनमोल केसीसँग स्क्रिन सेयर गरेकी थिइन् । यो फिल्ममा समृद्धिले कुशुम पात्र निर्वाह गर्दै विजय बरालको अपोजिट भूमिकामा देखिँदैछिन् । ‘यो भूमिकाले मलाई नयाँ चुनौती दिएको छ । दर्शकले मन पराउने अपेक्षा गरेकी छु’, समृद्धिले भनिन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य हो । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ । निर्देशककै कथा र सम्पादन रहेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् ।

निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् भने कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसर राम विष्ट रहनुभएको छ । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्