फिल्म । माघ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’को आयोजित प्रिमियरमा सहभागी सेलेब्सले सकारात्मक प्रतिक्रिया दिएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको फिल्मले मंगलवार नै प्रिमियर गरेको हो । इमोसनल, कमेडी, सन्देश भएको प्रतिक्रिया दिदै अभिनेता दीपकराज गिरीले फिल्म हेर्न आग्रह गरे।
प्रिमियरमा मदन कृष्ण श्रेष्ठ,दीपाश्री निरौला, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, सन्तोष पन्त, रमेश उप्रेती निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक आकाश अधिकारी,कमेडियन हिमेश पन्त गायक यश कुमार लगायत सहभागी थिए। यसले उठान गरेको बिषयवस्तु मन पराएको प्रतिक्रिया उनीहरूले दिए। ‘हामीले यस्तै फिल्ममार्फत दर्शकलाई हलसम्म तान्न सक्छौँ’, निर्देशक दीपाले भनिन्। अभिनेता पन्तले मन भएको हिरोको फिल्म हेर्न पाइएको बताए। ‘यहाँ बडी भएको जिउडाल मिलेको हिरो भन्दा पनि मन भएको हिरो छ। मलाइ फिल्म मन पर्यो’,उनले भने ।
प्रिमियरमा पाहुनाहरूबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले फिल्म ‘ह्यारी कि प्यारी’ टिम पनि थप उत्साहित देखिएको छ । डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।सुदिप बरालको छायांकन निर्देशनमा तयार भएको यो फिल्ममा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।










