‘गोबर गणेश’को पोस्टरमा देखिए मरिचमान र वर्षा

फिल्म । नेपाली फिल्म ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने तयारीमा रहेको फिल्मको पोस्टर निर्माण पक्षले आज सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटीलाई फिचर गरिएको छ । उनीहरू एकअर्काको अपोजिट भूमिकामा रहेको पोस्टरले झल्काएको छ । पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी देखिन्छन् भने सोही रिक्सामा बल्छी धुर्बे बसेका छन् । दुवैको प्रशन्न मुहारले उनीहरू खुसी जीवन बाँचिरहेको अनुभूति गराउँछ ।

पोस्टरमा उनीहरू नगरपालिकाका फोहोर व्यवस्थापनका कर्मचारीसरह प्रस्तुत गरिएको छ । रिक्सामा फोहोरसहित डस्ट प्यान देखिन्छ । बल्छीको गलामा सिठी छ भने पछाडिको दृश्यमा बाक्ला घरहरू छन्, जसले कीर्तिपुर क्षेत्र झल्काउँछ । हरियो कलर टोन प्रयोग गरिएको पोस्टरले फिल्मले सकारात्मक कथा बयो भनेर संकेत गर्छ, यद्यपि निर्माण पक्षले यसबारे औपचारिक जानकारी भने दिएको छैन ।

‘गोबर गणेश’को निर्देशन मरिचमान श्रेष्ठ स्वयंले गरिरहेका छन् । छायांकन सकिएको यो फिल्म हाल पोस्ट–प्रोडक्सनमा रहेको निर्माण पक्षले जनाएको छ ।पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि ‘गोबर गणेश’ले दर्शकको माया पाउने विश्वास व्यक्त गरे । दर्शकले मन पराउने विषयवस्तु र प्रस्तुति सहित फिल्म तयार भइरहेको र राम्रो साथ मिल्ने विश्वास रहेको उनले बताए ।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहन्छ ।

फिल्ममा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाह बीजीएम, शंकर पाण्डे प्रोडक्सन, शिवराम श्रेष्ठ डीओपी तथा विपीन मल्ल सम्पादकका रूपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्