डेढ दशकपछि अडिसन र कार्यशाला

फिल्म । केकी अधिकारी चलचित्र क्षेत्रमा स्थापित नाम हो । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि झन्डै डेढ दशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा डेब्यु गरिन् । त्यसपछि निरन्तर चलचित्रसँगै म्युजिक भिडियो, विज्ञापनदेखि स्टेज शोसम्म व्यस्त भएकी अभिनेत्री अधिकारीले चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिईन् ।

नाटक मन परेकै कारण उक्त भूमिकालाई निर्वाह गर्न निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाउदा केकीले नयाँ झैँ काम गरिन् । ‘मलाई त्यो भूमिका निर्वाह गर्नु थियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ’, अभिनेत्री अधिकारीले भनिन् ।

डेढ दशकपछि अडिसन दिनुको कारण उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय नै थियो । कोरोना महामारी अगाडि उनले मण्डला नाटकघरमा नै उक्त नाटक हेरेकी थिइन् । नाटक हेरेपछि शिर्ष भूमिका निर्वाह गर्नुभएकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई उनले बधाई दिदै चलचित्र बनाउन आग्रह गरेकी थिइन् ।

किनकि केकी गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुती दिएको नाटकसँग निक्कै प्रभावित थिइन् । कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा अभिनेत्री अधिकारीले चलचित्र बनाउने सोच आउँदा ‘बोक्सीको घर’ लाई नै निर्माण गर्ने अठोट गरिन् । पहिलो निर्माण गरेको चलचित्र भारतीय चलचित्रको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउएकी छिन् ।

‘मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर चलचित्र बनाउने प्रस्ताव लिएर निर्देशक भेटे । उहाँले सुरुमा अस्वीकार गर्नुभयो तर मैले निरन्तर प्रयास गरेर सहमत गराए । तर, उहाँले केही शर्त राख्नुभयो । सोही कारण मैले अभिनय यात्रा सुरू गरेको डेढ दशकपछि नयाँ झैँ सुरुआत गरे । कपाल समेत मुण्डन गरेकी थिएँ’, अभिनेत्री अधिकारीले भनिन् ।

कपाल मुण्डन गर्दा अन्य कामलाई प्रभाव पार्ने भएकाले अभिनेत्री अधिकारी सहमत थिइनन् । तर, निर्देशक भारतीले पात्रको जीवन बाच्न सके मात्र पात्रको मनोविज्ञानलाई पर्दामा ल्याउन सकिने अडान राखेपछि केकीले चलचित्र सुरु हुनु अगाडि ६ महिना प्रशिक्षण समेत गरिन् ।

‘यो पात्रलाई बाच्नु थियो । त्यसैले मैले दैनिक विहान ५ बजेदेखि ८ बजेसम्म उक्त पात्र बारे कार्यशाला (वर्कशप) गर्थे । निर्मात्री हुँदा हुँदै पनि अडिसन दिए । किनकि महिलाको यो कथालाई अगाडि ल्याउनु नै थियो’, उनले भनिन् ।

अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनु पर्छ भन्नेमा उनी स्पष्ट थिइन् । ‘धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका निभाएका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यहिकारण पनि यसपटक चलचित्रमा अधिकाँस मुख्य पात्र महिला नै छन् । यो हाम्रो समाजमा भइरहेको तर हामीले ध्यान नदिएको कथा हो’, अभिनेत्री अधिकारीले भनिन् ।

कमै नाटकलाई चलचित्र बनाइने गरिन्छ । किनकि यी दुई फरक मध्यम हुन् । नाटकघरमा नाटक मन्चन हुँदा व्यावसायिक दबाब निकै कम हुन्छ । तर, चलचित्र भवनमा आउँदा लागत बढ्ने भएकाले बजारलाई ध्यान दिनु अत्यावश्यक हुन्छ । साथै, नाटक चलचित्रमा आउँदा विग्रियो भन्ने कला प्रेमी पनि हुन्छन् । कोरोना महामारी पश्चात ‘पानीफोटो’ र ‘डिग्री माइला’ प्रदर्शन भईसकेको छ भने ‘बोक्सीको घर’ वैशाख १४ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्