फिल्म । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको २ मिनेट ५५ सेकेन्डको ट्रेलरले फिल्मको मुख्य कथावस्तु झल्काएको छ । ट्रेलरले भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गर्ने आन्दोलनलाई केन्द्रमा राखेको स्पष्ट देखिन्छ। यसले केही समयअघि नेपालमा भएका जेनजी आन्दोलनका दृश्यहरूलाई पनि सम्झाउँछ।
उच्च शिक्षा हासिल गर्ने सपना लिएर विदेश पुगेको एक युवाको जीवन उल्टिएपछि भ्रष्टाचार र बेथितीविरुद्ध उभिएको कथालाई फिल्मले प्रस्तुत गर्छ। ट्रेलरले दर्शकमाझ कौतुहलता बढाएको छ। कथावस्तुले जेनजी आन्दोलनसँग मिल्दोजुल्दो देखिए पनि निर्देशक पाँडेले फिल्मको छायांकन आन्दोलनभन्दा पहिलेनै सकिएको उल्लेख गर्दै यो केवल संयोग मात्र भएको बताए।
नागराज इन्टरटेन्मेन्ट प्रालि निर्माताको रुपमा रहेको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दै छन्। अमेरिकाबाट फर्केर उनले फिल्मको छायांकनमा सहभागिता जनाएका थिए। फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ‘पाँडे’, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय समावेश छ।
आगामी पुस ४ गते देशव्यापी रिलिज हुने फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्न लागेका छन्। बाल कलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकासहित प्रस्तुत भएका छन्।
निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की तथा विशाल घिमिरेले लेखेका हुन्। फिल्मका छायाँकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता हुन्। लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन्।












