‘एट द टिपिङ पोइन्ट: आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ प्रदर्शनी सुरु

फिल्म । विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको तारागाउँ नेक्सट परिसरमा ‘एट द टिपिङ पोइन्ट: आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ प्रदर्शनी सुरु भएको छ । बिहीबार उद्घाटन गरिएको यो प्रदर्शनी शुक्रबारबाट सर्वसाधारणका लागि खुला छ । सगरमाथा नेक्सट र सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित यो प्रदर्शनी ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखन्डवालाले संयोजन गरेकी छन् ।

उनले विश्वव्यापी पारिस्थितिक आवश्यकतालाई ध्यानमा राखी प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट प्रस्तुत गरिएको बताइन् । तीन महिनासम्म चल्ने यो प्रदर्शनीमा १२ जना नेपाली र अन्तर्राष्ट्रिय कलाकारका सिर्जनाले वातावरणीय सङ्कटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछ ।

प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक लाइभ प्रस्तुति दिएको छ, जसले रातो माटो प्रयोग गरी मानव र भूमिको सम्बन्धलाई उजागर गर्छ । यो प्रस्तुति गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ। प्रदर्शनीले हिमालय क्षेत्रमा विश्व औसतभन्दा दोब्बर गतिमा बढिरहको तापक्रम, जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलामार्फत पृथ्वीप्रतिको सम्बन्धलाई पुनर्परिभाषित गर्ने लक्ष्य राखेको छ ।

हिमाली सिंह सोइनको स्वालबार्डको हिम क्षेत्रमा खिचिएको कवितात्मक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउँछ । उर्सुला बिमान्नको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गर्छ । उत्सा हजारिकाको ‘यन्त्र-ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ व्याख्या गर्छ ।

मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ ले च्याउ, माटो र काठको संयोजनमा आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्छ। नेपाली कलाकार समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइभल’ ले शहरीकरणले हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनिमार्फत व्यक्त गर्छ । अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य जमिनको परिवर्तनलाई तीन फोटोग्राफिक शृङ्खलामार्फत देखाएका छन् ।

मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ ले पहाडको ढुङ्गाबाट कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्छ। जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माणले कीराको जनसङ्ख्यामा आएको ह्रासलाई डिजिटल रूपमा चित्रण गर्छ । क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणले मरेका अल्बाट्रस चराका तस्बिर र भिडियो प्रस्तुत गरेका छन् ।

सौर्गङ्गा दर्शनधारीको नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनलाई जोड्छ। रोबर्टिना शेबजानिकको ‘द एटलान्टिक टेल्स् एन्ड को सोनिक’ ले साउन्ड इन्स्टलेसनमार्फत वातावरणीय ह्रासको अदृश्य पक्ष उजागर गर्छ । यो प्रदर्शनीले आर्कटिकदेखि एन्डिज, नेपालका खेतबारीदेखि डिजिटल क्लाउडसम्मको संसारलाई कलात्मक फ्रेममा प्रस्तुत गर्छ ।

कमेन्ट गर्नुहोस्