फिल्म । यही मङ्सिर २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्याण्डमा ‘सोल्ड आउट’ भएको छ । फिल्मको प्रदर्शन अधिकार (राइट्स) त्यहाँका ‘मि. श्रेष्ठ प्रोप्राइटरी लिमिटेड’ तथा ‘श्रेष्ठ फ्यासिलिटी म्यानेज्मेन्ट’ कम्पनीले खरिद गरेका हुन् ।
कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनका लागि फिल्म खरिद गरिएको जानकारी दिए । उनका अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषयवस्तु उठान गरेकाले दर्शकको उच्च माग अनुसार फिल्म खरिद गरिएको हो । यसअघि अष्ट्रेलियाका विभिन्न स्थानमा फिल्मको विशेष शो समेत गरिएको थियो। उक्त शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै फिल्म र निर्माण पक्षको खुलेर प्रशंसा गरेका थिए ।
यतिबेला फिल्मका निर्देशक शोभित बस्नेत अष्ट्रेलियामा नै छन्। उनी त्यहाँका हलहरूमा फिल्म रिलिजको तयारी र प्रमोसनमा व्यस्त रहेका छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी (मस्तानी), विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको प्रमुख भूमिका छ। त्यस्तै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। गणेश बुढाथोकीको लेखन रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
सौरभ सायमी र सौरभ लामाको छायाङ्कन रहेको यो फिल्मलाई आर आर फिल्म्सले वितरण गर्दैछ। फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ भने गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर सुन्न सकिन्छ ।









