फिल्म । आजदेखि प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’ लाई सेलिब्रेटीले रुचाएका छन् । आज काठमाडौँमा आयोजित ‘विशेष प्रदर्शनी’ मा सहभागी भएका अधिकाँस कलाकारले फिल्मको प्रसंशा गरे । विदेशमा रहेका परिवारको कथालाई व्यक्त गरेको फिल्म हेर्दा आँखा रसाउने र मनछुने उनीहरुको प्रतिक्रिया थियो ।
अभिनेता रमेश उप्रेतीले विदेशिएका कलाकार स्वदेश फर्किएर फिल्म निर्माण गर्नु सुखद पक्ष रहेको बताउदै प्रसंशा गरे । उनले भने,‘यो नेपालमा रहेका धेरै एक्ला अभिभावकको कथा हो । मन छुन्छ, भावुक भइन्छ । मैले पछिल्लो समय हेरेका हरेक फिल्म उत्कृष्ट बनिरहेका छन्, यो फिल्म हेर्दा समय र पैसाको सदुपयोग हुन्छ । मलाई निकै मन परेको छ ।’
अभिनेत्री करिश्मा मानन्धरले फिल्मको कलाकार र विषयवस्तुले मनसम्म छुने बताइन । ‘यो फिल्मलाई उत्कृष्ट बनेको छ भन्न कहिँ कतै डराउनु पर्दैन । भन्नु पर्ने भएकाले होइन, मनदेखि भनेकी हुँ, फिल्म राम्रो बनेको छ’, अभिनेत्री मानन्धरले भनिन् ।
अभिनेत्री बसुन्धरा भुसालले अभिनेता विपिन कार्कीको अभिनयको तारिफ गरिन् । उनले भनिन्,‘विपिनले पात्रलाई बाचेका छन्, उनी जीवन्त देखिएका छन् । यो एउटा परिपक्क फिल्म बनेको छ । यो परिवारसँगै हेर्नुपर्छ भन्ने मलाई लागेको छ ।’
यस्तै ‘विशेष प्रदर्शनी’मा सहभागी नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल, माइती नेपाल अध्यक्ष अनुराधा कोइराला, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, समाजसेवी दीपक सिलवाल लगायतले फिल्मले उठान गरेको विषय र प्रस्तुतीकरणको तारिफ गरे ।
निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा फिल्म ‘तेल भिसा’ तयार गरेकाछन् । फिल्मलाई आफूले प्रवासी जीवनमा देखेको एउटा कथालाई दर्शकसम्म ल्याएको उनले बताए ।
‘तेल भिसा’ मा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाएका अभिनेता कार्कीले नयाँ अनुभव सङगालेको बताए ।
यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।










