‘कुप्रथा हटाउने विषयमा फिल्म आउनु स्वागतयोग्य’ : सञ्चारमन्त्री गुरुङ

फिल्म । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । उनले भने,‘बोक्सीको आरोपमा धेरै महिलाले ज्यान गुमाएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य भएको छ । नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’

फिल्मका निर्देशक घनश्याम लामिछानेले समाजमा व्याप्त कुरीतिका विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । यसमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।

निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी फिल्म निमार्ण भएको बताउँदै उनले आगामी मंसिर ७ गते हलमा आएर ‘अग्नीदहन’ हेरिदिन पनि आग्रह गरे । फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । फिल्मका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक फिल्म नभएको बताए ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदचरण उपाध्ययले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए । विशेषगरी मधेश प्रदेशमा यो कुप्रथाको प्रभाव बढी रहेको पनि उनले बताए । ‘जसरी सति प्रथा उन्मुलन भएको थियो, त्यसरी अब नेपाली समाजबाट बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ,’ उनले भने ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्