फिल्म । राज बहादुर सानेको निर्देशनमा तयार भईरहेको फिल्म ‘सिटामोल’को छायांकन सिन्धुलीमा भईरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म यसको करिब ५० प्रतिशत छायांकन सकिएको हो । निर्देशक सानेले सेड्युल अनुसार काम भइरहेको र स्क्रीप्टमा लेखिएका कुराहरू दृश्यांकन भइरहेको बताए ।
उनले भने,‘हामीले तय गरेको सेड्युल अनुसार नै काम सकिएमा आउँदो वर्ष विसं २०८१ को तीजमा फिल्म दर्शक माँझ ल्याउनेछौँ । यो एउटा गाउँको अर्गानिक विषय हो ।’ छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।
सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी युद्धको कथा फिल्मले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई माओवादी युद्धको घाइतेको रुपमा हुनसक्ने बुझिन्छ ।
फिल्ममा लोकेन्द्र लेखक पनि मुख्य भुमिकामा काम गरेका छन् । फिल्ममा बाबुल गिरीको संगीत, दिव्य सुवेदीको छायांकन रहेको छ । यसमा भुगोलकुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।











