‘कबड्डी ५’को ‘थाक खोला’ मा के छ ?

फिल्म । निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

कालीप्रसाद बास्कोटाको स्वर रहेको गीतमा उनकै शब्द तथा संगीत छ। गीतको संगीत संयोजन, गिटारवादन, मिक्सिङ तथा मास्टरिङ रिकेश गुरुङ किजको रहेको छ। त्यस्तै, सारंगीमा हेमन्त कान्छा रसाइली र बेस गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन्। भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम तथा सम्बन्धका भावनात्मक पाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। तीनै जनासँग दयाहाङको प्रेम र उनीहरूबीचको रमाइलो नोकझोकले गीतको भिडियोमा मनोरञ्जनसँगै फिल्मको कथाप्रति कौतुहलता बढाएको छ।

भिडियोको अर्को प्रमुख आकर्षण थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्य हुन्। यी दृश्यले गीतको भाव र कथालाई अझ सुन्दर तथा जीवन्त बनाएका छन्।

विशेषगरी भिडियोमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिइएको छैन। फिल्मकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध, प्रेम, नोकझोक र भावनालाई कथामार्फत प्रस्तुत गरिएको छ।

यसअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। टिजरले छोटो समयमै लाखौँ भ्युज बटुल्नुका साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। टिजरमा धेरै दर्शकले अभिनेत्री मिरुना मगरको खोजी गरेका थिए। गीतमा भने उनी देखिएकी छन्। टिजरजस्तै गीतले पनि दर्शकको साथ पाउने निर्माण टिमको विश्वास छ।

फिल्म यस वर्ष दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईँलगायतका कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

फिल्मको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।

कमेन्ट गर्नुहोस्