उपेन्द्रसँगको सम्बन्धको विषयमा बोले रामबाबु

फिल्म । निर्देशक रामबाबु गुरुङले अभावमा कोही नछुटिने बताएका छन् । पछिल्लो समय आफ्नो टिमका सदस्यहरू छुटिएको भन्दा पनि आत्मनिर्भर भएर काम गर्न खोजेको उनले बताए । आउँदो चैत ३० मा प्रदर्शन हुने फिल्म ‘डिग्री माइला’ को प्रचारका क्रममा निर्देशक गुरुङले आफ्नो किसिमले काम गर्न पाउने अधिकार सबैलाई रहेको बताए ।

‘बजारमा चर्चा भए जस्तो हिसाबकिताबको कारणले कोही अलग भएका होइनन् । उहाँहरूले बजारमा देखेको सम्भावनालाई आफ्नो किसिमले फिल्म तयार गर्न खोज्नु भएको हो । हामीसँगै हुने छौँ’, निर्देशक गुरुङले भने । उनले आत्मनिर्भर भएर काम गर्नु र महत्वाकांक्षी हुनु गलत नभएको बताए ।

कथाकार उपेन्द्र सुब्बा र छायाँकार निर्देशक गुरुङसँग छुट्टिएर ‘मनसरा’ निर्माण गरेपछि फिल्मनगरीमा यो समूह बीच हार्दिकता नरहेको चर्चा हुने गरेको छ । यस सन्दर्भमा निर्देशक गुरुङले पहिलोपटक सार्वजनिक रुपमा चर्चा गरेका हुन् ।

उनले अभिनेता दयाहाङ राईलाई सालिन व्यक्तिको रुपमा बुझेको समेत बताएका छन् । ‘दयाले पाएको सफलता र आफूसँग भएको क्षमतामा कहिले घमण्ड गर्दैन । उसको सरल स्वभावले सबैलाई आकर्षित गर्छ’, निर्देशक गुरुङले भने । उनले दयासँग पहिलो फिल्म ‘अनागरिक’ देखि नै काम गरिरहेका छन् । यो समूहले निर्माण गरेको ‘कबड्डी’ शृंखला सर्वाधिक सफल छ । तर, त्यो शैलीबाट बाहिर निस्किन नसकेको आरोप पनि लाग्ने गरेको छ । सोही कारण पनि हुनसक्छ यसपटक यो समूहले ‘डिग्री माइला’ लिएर आएको छ ।

दया र रामबाबु दर्शकसँगै फिल्मकर्मीको लागि पनि विश्वाशिलो नाम बनिसकेका छन् । उनीहरूले सँगै काम गर्दा नेपाल मात्र नभई डायस्पोरामा पनि उही विश्वासका साथ दर्शक हलसम्म आउछन । यही समूहले निर्माण गरेको ‘डिग्री माइला’ प्रति अहिले दर्शकको विश्वास बढिरहेको छ । फिल्ममा अभिनेता राईले डिग्री पास बेरोजगारको कथालाई पेश गरेका छन् । उनको पात्रले देशमा धेरै युवाको आवाज बोल्ने र शैलले पनि गाउँको माइलाको झल्को दिने भएकाले युट्युबसँगै सामाजिक सञ्जालमा रुचाइएको छ । ट्रेलरमा रहेका संवादले हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले फिल्मको प्रतीक्षा समेत बढाएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको भएको फिल्ममा दयासँगै आँचल शर्मा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेनछ ।यसमा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानमै आधारित रहेको यसको कथासार तयार गरिएको छ । आगामी चैत ३० गते प्रदर्शन हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठ तथा राइली एसशिनको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्