फिल्म । गत जेठ ९ गतेदेखि प्रदर्शनमा आएको अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ले देशव्यापी रूपमा उत्साहजनक सुरुवात गरेको छ । आठ वर्षपछि हमालको पुनरागमन फिल्म भएकाले दर्शकको प्रतिक्षा र उत्साह बक्स अफिसमा स्पष्ट देखिएको छ ।
वितरक करण श्रेष्ठका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दुई दिन शुक्रबार र शनिबार उत्कृष्ट प्रदर्शन गरेको छ । शुक्रबार बिहानका शोमा ४० प्रतिशत अकुपेन्सी रहे पनि दिउँसो र साँझका शोमा ८० प्रतिशतसम्म दर्शक उपस्थिति देखिएको थियो । शनिबार भने बिहानदेखि नै दर्शकको उत्साहजनक साथ प्राप्त भएको छ ।
शनिबार काठमाडौँ उपत्यकामा मात्र नभई मोफसलका हलहरूमा पनि अभिनेता हमालको क्रेज स्पष्ट देखिएको श्रेष्ठले बताए । उनी दर्शकको भीडसँगै फिल्मको कथावस्तु, एक्सन र अभिनयले सकारात्मक प्रतिक्रिया पाएको छ । अभिनेता हमाल, अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराईलगायत कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् ।
यसै क्रममा, शनिबार अभिनेता हमाल करिब १० वर्षपछि देशकै सबैभन्दा ठूलो सिट क्षमता भएको अष्टनारायण हल पुगेका थिए । उक्त हलमा करिब एक हजारभन्दा बढी दर्शकले फिल्म हेर्दै गर्दा हमालको आगमनमा ताली र सिटीसहित भव्य स्वागत भएको थियो । हमालले दर्शकसँग फिल्मबारे प्रतिक्रिया लिएर सेल्फी खिच्दा उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो ।
करिब एक दशकपछि अष्टनारायण हल पुग्दा हमाल उत्साहित देखिन्थे । उनले हलको स्टेजमा पुगेर फिल्मको गीत ‘अच्छा तर लण्डनको चिसोले समाउला’मा नृत्य समेत गरे । हलबाट फर्कने क्रममा मिडियासँग कुरा गर्दै हमालले १० वर्षपछि सिंगल स्क्रिन हलमा दर्शकमाझ पुग्दा पुराना सम्झनाहरू ताजा भएको बताए ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्मित यो फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन, र ध्रुव न्यौपानेको लगानी रहेको छ । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायतका कलाकारको अभिनय छ । राजु विक्रम थापाको छायांकन र साहिल खानको सम्पादन रहेको यो फिल्मले नेपाली बक्सअफिसमा सुखद सुरुआत गरेको छ ।











