फिल्म । नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म ‘स्टेशन’ निर्माणको घोषणा गरेकी छन् । उनका अनुसार फिल्म आगामी भदौ १९ गते प्रदर्शनमा आउनेछ।
गत वर्ष सफल फिल्म ‘बोक्सीको घर’ दिएकी केकीले सोही टिमसँग सहकार्य गर्दै नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् । फिल्म ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् भने कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । फिल्मका निर्माता बद्री अधिकारी रहेका छन् ।
केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिए पनि ती सामग्री स्पष्ट छैनन् । पोस्टरले फिल्म सामाजिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ ।
फिल्ममा अभिनय गर्ने कलाकार तथा प्राविधिक टिमबारे भने हालसम्म खुलाइएको छैन । यसबारे केही समयपछि जानकारी गराइने निर्माण पक्षले जनाएको छ ।










