‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक सार्वजनिक

सङ्गीत । नेपाली लोकसंगीतको कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक सार्वजनिक गरिएको छ । सन् १९७९ मा रेडियो नेपालको गीति प्रतियोगितामा प्रथम पुरस्कार जित्न सफल यो गीत ४६ वर्षपछि नयाँ स्वर र शैलीमा पुनर्जनन भएको हो । स्वर्गीय कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वरमा सजिएको यो गीतलाई उनका जेठा छोरा राजु थापाले रिमेक गरेका छन् ।

रुविन कुमार श्रेष्ठले गीतलाई पुनःसंयोजन (रि–एरेन्ज) गरेका छन् । ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’ नेपाली लोकसंगीतको अमर कृति मानिन्छ, जुन आम नेपालीको जिब्रोमा झुन्डिएको छ । सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यो गीतको म्युजिक भिडियो सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा छायांकन गरिएको छ ।

भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिकामा छन् भने पवन केसी, सत्य देवी, पवित्रा रम्तेल र काजी थापा पनि देखिएका छन् । क्रान्ति केसीको निर्देशन र बासु बरालको छायांकन रहेको यो भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ । चार दशकभन्दा लामो समयपछि पुनर्जनन भएको यो गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग जोड्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्