‘रातो पासपोर्ट’ फिल्म निर्माणको घोषणा

फिल्म । युरोपका विभिन्न देशमा नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने अभिलाषासहित पुगेका नेपालीहरूको सङ्घर्षको कथामा आधारित नेपाली फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मलाई सिमसोन तामाङले निर्देशन गर्नेछन् । फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले तयार पारेका छन् ।

निर्माण पक्षले केही दिनअघि सामाजिक सञ्जालमा ‘सबै भन्छन् – त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे। रातो पासपोर्ट पाइन्छ रे… !’ भन्दै प्रचार सुरु गरेको थियो । तर, आइतबार मात्रै पोर्चुगलको पासपोर्टको कभर पेजको शैलीमा तयार पारिएको मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

‘रातो पासपोर्ट’ मा लोक बहादुर तामाङ निर्माता र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा छन् । पौडेलले यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।

फिल्मको प्राविधिक समूहमा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाकारका रूपमा रवीन्द्र न्यौपाने र सङ्गीतकारका रूपमा जयन जे. वाइबा रहेका छन् ।

निर्देशक सिमसोन तामाङ लामो समयदेखि नेपाली फिल्म उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा सक्रिय छन् । उनले ‘बाउन्सर’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘मधुमास’, ‘ब्ल्याक फ्ल्याग’, ‘किल्ला’, ‘ऐश्वर्य’, ‘राधे’, ‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ लगायतका चर्चित एक्सन फिल्महरूमा प्रमुख सहायक एक्सन निर्देशकको रूपमा काम गरेका छन् । साथै, उनले ‘धन्य माया जाल’, ‘असुर द मिस्ट्री’ (हिन्दी) र ‘लप्पन छप्पन २’ जस्ता फिल्ममा एक्सन निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।

निर्माण पक्षका अनुसार फिल्मका लागि नेपालबाट कलाकार तथा अन्य क्रू सदस्यहरूको छनोट चाँडै नै गरिनेछ । यसका साथै, युरोप र युकेमा रहेका कलाकारहरूलाई अडिसनमार्फत छनोट गरिने योजना रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले जानकारी दिए । फिल्मको छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही देशहरू र नेपालमा गरिनेछ।

कमेन्ट गर्नुहोस्