फिल्म । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएका अभिनेता मध्येका एक हुन्, प्रमोद अग्रहरी । आफ्नो पात्रलाई जीवन्त बनाउने यी अभिनेताले यसपटक ‘त्रिपाठी’ भूमिका निर्वाह गरेका छन् । उनका अनुसार ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै हो । अर्थात् सबै कुरा उसकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको इसारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन ।
‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक फिल्ममा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, अभिनेता अग्रहरीले भने ।
उनले फिल्ममा उठान गरिएको कथा अन्य स्थानमा नदेखेको बताए । ‘मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, उनले भने ।
उनले ‘त्रिपाठी’ लाई बलियो बनाउन शारीरिक भन्दा पनि मानसिक रुपमा बढी तयारी गरे । ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनु भन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफूल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो’, अभिनेता अग्रहरीले भने,‘फिल्मको वर्कसप भएको थिएन, दुई चारपटक स्क्रिप्ट पढें । बीचमा बुवा बित्नुभएपछि घर आउनुपर्यो । उहाँको काम सकेर पछि फिल्म युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें ।’
फागुन १८ गतेदेखि प्रदर्शन हुने फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।













