गसिप । लकडाउनले धेरैको लभ पनि डाउन पारिदिएको छ। अझ बढी मारमा छन्, टाढाका प्रेमी–प्रेमिका। नेटमा जति कुरा गरे पनि भेटेर हात समाएर कुरा गर्नुको जस्तो मज्जा कहाँ हुन्छ र ? लकडाउनले बिचल्ली पारेको जोडीमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ पनि पर्छिन्। उनको भारतीय गायक सनम पुरीसँग लभ परेको छ। तर, बन्दाबन्दीले भेटघाट बन्द ! अनि त के, उही पुराना फोटो हाल्यो, बस्यो। अस्मीले पनि यही गरेकी छिन्।
उनले कहिले सनमसँगको इस्तानबुलमा घुमेको फोटो राख्दै सचित्र वर्णन गर्ने गरेकी छिन् त कहिले सनम र आफ्नो फोटो राख्दै ‘लङ डिस्ट्यान्स रिलेसनसिपमा को–को हुनुहुन्छ’ भन्दै सोध्ने गरेकी छिन्। कहिलेकाहीँ त सनमको मात्र फोटो पनि हुन्छ, बिनाक्याप्सन। यो सबै काम अस्मीले दिन बिराएर गर्ने गरेकी छिन्। उनको छटपटाहट देखेर हामीलाई नै यो लकडाउन चाँडै खुल्दियोस्जस्तो भइसक्यो। बिचरा, उनलाई झन् के लागिरा’ होला ? (सम्पूर्ण साप्ताहिकबाट साभार)