फिल्म । आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन गरिएको दुई चलचित्र फरक विधामा आधारित रहेका छन् । आजदेखि प्रदर्शन गरिएको दीपक श्रेष्ठ निर्देशित ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेता किरण श्रेष्ठले अभिनयमा सुरुआत गरेका छन् । निर्देशक श्रेष्ठले आफ्ना अघिल्ला चलचित्र झैँ नयाँ प्रतिभालाई अवसर दिएको बताए ।
उनी निर्देशित ‘हिम्मत’ मार्फत गायनमा दीपक लिम्बु, ‘पर्खी बसेँ’ मार्फत अभिनेता राजबल्लभ कोइराला र अभिनेत्री युना उप्रेती लगायतले आफ्नो करिअरको सुरुआत गरेका थिए । युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रमार्फत मुख्य भूमिकामा देखिनु भएकी अभिनेत्री बुढाथोकीले आफू उत्साहित रहेको बताइन ।
मण्डला नाटकघरमा सात वर्षमा तेह्र नाटकमा अभिनय गर्नुभएका अभिनेता श्रेष्ठले चलचित्रमा हिरो बन्ने मौका बल्ल प्राप्त भएको बताए । राजाराम बुढाथोकीको निर्माण रहेको चलचित्रमा शिव श्रेष्ठ, विल्सन विक्रम राई लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
आजै प्रदर्शन गरिएको अर्को चलचित्र ‘चित्रा’मार्फत अभिनेताको रुपमा सन्तोष अधिकारीले यात्रा सुरू गरेका छन् । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहनु भएका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण अभिनयमार्फत अगाडि आएको बताए ।
अभिनेता अधिकारीको पूर्व तयारीले अभिनय यात्राको प्रारम्भ भएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अन्जना बराईली, अर्पण थापा, सिम्रन खड्का लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।












