‘गाउँ आएको बाटो’ युरोपको गोटेबर्गमा

फिल्म । नवीन सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ स्वीडेनको ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को ४७ औँ संस्करणमा छनोट भएको छ । जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्ने महोत्सव अन्तर्गत फिल्मको युरोप प्रिमियर हुने निर्देशक सुब्बाले जानकारी दिए । यसअघि टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म वुसान, मामी लगायतका फेस्टिभलमा छनोट भईसकेको छ ।

दयाहाङ राई, प्रसन राई र पशुपति राईको शीर्ष भूमिका रहेको फिल्म यसवर्ष क्यानडाको टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । त्यसपछि दक्षिण कोरियाको बुसान, भारतको मुम्बई फिल्म फेस्टिभलमा यो फिल्म स्क्रिनिङ भैसकेको छ ।

फिल्मले आमाबाबु र बच्चाबीचको सम्बन्ध चित्रण गर्छ । साथै अवसर र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने चित्रण गर्छ । फिल्मले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ ।

सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यो फिल्मलाई भोजपुर, संखुवासभा र धरानमा फिल्मको छायांकन गरिएको हो । ‘नुमाफुङ’ रिलिज भएको २२ वर्षपछि र ‘गुडबाइ काठमाण्डू’ बनेको ६ वर्षपछि ‘गाउँ आएको बाटो’ तयार भएको हो । फिल्मको निर्मातामा नवीन सुब्बा र आमोद राई छन् ।

महेश राई र निर्देशक सुब्बाले पटकथा लेखेका हुन् । फिल्ममा अमेरिकी सिनेम्याटोग्राफर जोस हेरमको छायांकन, क्वान पंग लिउङको सम्पादन, हेइदी लीको संगीत छ ।

कमेन्ट गर्नुहोस्