गगन र समीले तयार गरे ‘मेरो गीत तिमीलाई हो’

सङ्गीत । जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय दृष्टिविहीन् गायक गगन आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो…’ मंगलवार सार्वजनिक गरेका हुन् । यी युवा गायकले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

यो गीतमा सुशिल विक्रम शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ भने गीतका रेकर्डिष्ट पनि उनै हुन् । गुञ्जन रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

गायक आले तथा गीतको भिडियोकी मोडल समी लावतीको स्क्रिप्टमा यसको सुन्दर म्युजिक भिडियो तयार पारिएको छ । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक गगन आले तथा मोडल समी लावतीको जोडीले सुन्दर अभिनय गरेका छन् । गगन झैँ समी पनि जन्मजात दृष्टिविहिन् हुन् । दुबै दृष्टिविहिन् कलाकारले भिडियोमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका छन् ।

दृष्टि विहिन् व्यक्तिको मनमा पनि प्रेमको भावना जागृत हुनसक्छ, उनीहरु पनि सामान्य मानिसहरु झैँ भावुक हुन्छन्, उनीहरुको दृष्टिकोण र जीवन भोग्ने भोगाइ पनि अन्य सामान्य मानिसको भन्दा पृथक हुँदैन भन्ने भावना गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ ।

मुकेश हुमागाईँ तथा समुहले छायांकन गरेको यो गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी छ । मिन रावलद्वारा सम्पादन गरिएको यो भिडियोमा काठमाडौंको फर्पिङ क्षेत्रका आकर्षक लोकेशनहरु देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्