‘२० दिनमा फिल्म बनाएर ३ महिना राजनीति नगरौ’

फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ हो । आजबाट देशव्यापी प्रदर्शनमा आएको यो फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि उत्तिकै आश्वादी छन् । सुरुवाती रुपमा नै फिल्मले आफ्नो ब्राण्ड भ्यालु देखाईसकेको छ । अर्थात् दीपकराज गिरी र दीपाश्री निरौला समुहको यस फिल्मले दर्शकको साथ पाइरहेको छ । दीपक र दीपासँगै फिल्मका अन्य कलाकारहरु जितु नेपाल , केदार घिमिरे , केकी अधिकारी र निर्देशक दीपेन्द्र लामाले विहानी शोमा दर्शकसँगै बसेर फिल्म हेर्नुका साथै प्रतिक्रिया पनि लिए ।

राजधानी स्थित गोपीकृष्ण मुभिजमा पुगेको टोलीले दर्शकको प्रतिक्रियाले आफुहरुलाई उत्साहित बनाएको प्रतिक्रिया समेत दिए । प्रतिक्रिया दिने क्रममा दीपकले आफु र आफ्नो टिमको मेहनतले पाएको प्रतिक्रियाले उत्साहित भएको बताए । उनले फिल्म चलाउन राजनीति होइन मेहनत गर्नु पर्ने समेत बताए । ‘२० दिनमा फिल्म बनाएर ३ महिना राजनीति गर्नु हुन्न’ उनले प्रतिक्रिया दिदै भने ,’हामीले कन्टेनमा ध्यान दिएका थियौ र त्यसमा सफल भयौ जस्तो लाग्छ ।’ उनले फिल्म आफ्नो पछिल्लो ‘छक्का पञ्जा’ सिरिज भन्दा बिल्कुलै फरक रहेको बताए ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

विज्ञापन

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

कमेन्ट गर्नुहोस्