नेपालसँगै डायस्पोरामा ‘डिग्री माइला’

फिल्म । दयाहाङ राई स्टारर ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिज डेट घोषणा गर्दै यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले वितरण गर्ने जनाएको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । सिनेमामा आँचल शर्मा दयाको जोडी बनेकी छन् ।

उनीहरुका अलावा सिनेमामा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । सिनेमालाई यस वर्ष बल्कबस्टर व्यापार गर्नसक्ने सिनेमाको सूचिमा राखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

कमेन्ट गर्नुहोस्