ओटीटी । नेटफ्लिक्सको चर्चित एन्थोलोजी सिरिज ‘लस्ट स्टोरिज’को तेस्रो भाग ‘लस्ट स्टोरिज ३’को ट्रेलर सार्वजनिक भएको छ । यसपटक बलिउडका चर्चित निर्देशक विशाल भारद्वाज, शकुन बत्रा, विक्रमादित्य मोटवाने र किरण रावले चार फरक कथा निर्देशन गरेका छन् ।
‘लस्ट स्टोरिज ३’ले आधुनिक सम्बन्ध, प्रेम, अन्तरंगता र मानवीय चाहनाका विभिन्न पक्षलाई चार अलग-अलग कथामार्फत प्रस्तुत गर्नेछ । ट्रेलरमा प्रेम, चाहना, नोकझोक र जटिल सम्बन्धका विभिन्न आयाम देखाइएको छ।
चार निर्देशकले आ-आफ्नै शैलीमा मानवीय भावना र आधुनिक सम्बन्धका विभिन्न तहलाई प्रस्तुत गरेका छन् । चारै कथाका आफ्नै गति, शैली र ट्विस्ट भए पनि ती सबै एउटै प्रश्नसँग जोडिएका छन्, मानिस वास्तवमा के चाहन्छन्, के कुरा लुकाउँछन् र ती चाहनाले उनीहरूको सम्बन्धलाई कसरी परिवर्तन गर्छ ?
सिरिजमा राधिका आप्टे, कोन्कणा सेन शर्मा, अदिति राव हैदरी, राधिका मदान, सना थम्पी, विजय वर्मा, अभिषेक बनर्जी, सिद्धार्थ, अली फजल र गुरफतेह पीरजादा लगायतका कलाकारले अभिनय गरेका छन्। ‘लस्ट स्टोरिज ३’ सेप्टेम्बर १८ देखि नेटफ्लिक्समा स्ट्रिम हुने छ।









