फिल्म । डार्क कमेडी जनरामा निर्माण हुन लागेको नेपाली फिल्म ‘जिरो डिग्री’ को छायाङ्कन पोखराबाट सुरु गरिएको छ । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन विधिवत् रूपमा थालिएको हो ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पहिलो शटमा प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । निर्माण टिमका अनुसार फिल्मको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका मौलिक बस्तीहरूमा ३५ दिनको तालिकामा गरिनेछ ।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आउने विभिन्न उतारचढाव र रमाइला घटनाहरूमा फिल्मको कथा केन्द्रित रहने बताइएको छ ।
फिल्मलाई आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा निर्देशन तथा पटकथा लेखन गरेका छन् । छायाङ्कनमा जानुअघि नै फिल्मको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ ।
फिल्ममा विजय बराल र सनिशा भट्टराईका साथै वरिष्ठ कलाकार वसुन्धरा भुसाल र रमेश बुढाथोकी मुख्य भूमिकामा देखिनेछन् । साथै प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन् भने छायाङ्कन निशाल पौडेलले गर्नेछन् । सम्पादन चानस पुन मगर र रङ संयोजन राजेन्द्र मोक्तानको रहनेछ। फिल्ममा अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रहेको छ।










