फिल्म । कलाकार सन्दीप क्षेत्रीले नेपाली महिला फुटवल राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ लाई फिल्मको रुपमा मात्र नबुझ्न आग्रह गरेका छन् । आफ्नो परिवारसहित फिल्म हेर्न पुगेका सन्दीपले फिल्म हेरिरहदा भावुक बनेको र आँसु रोक्न नसकेको प्रतिक्रिया दिएका छन् ।
‘यो फिल्म हेरेपछि मेरो श्रीमती र आमा प्रति झनै सम्मान बढेको छ, म अञ्जिलाको आमा प्रति पनि सम्मान प्रकट गर्छु । यो फिल्म मात्र होइन एउटा सुन्दर रचना हो । यो फिल्मका विषयमा तपाइँ सबैले लेख्नु हुन्छ, किनकि यो राम्रो फिल्म बनेको छ, सबैको कथा जोडिएको छ’, सन्दीपले भने ।
प्रिमियरमै फिल्म हेर्न निम्ता पाए पनि सन्दीप आएनन् । प्रिमियरमा फिल्म हेरेपछि राम्रो प्रतिक्रिया दिनुपर्ने बाध्यात्मक अवस्था सामना गर्नुपर्ने भएकोले नियमित शोमा फिल्म हेर्ने सोच बनाएको उनले बताए । छोरी नेपाली फुटवल र कप्तान सुब्बाको फ्यान भएकोले सन्दीप परिवारसहित फिल्म हेर्न पुगेका थिए । ‘यो फिल्म छोरीलाई देखाएर ठिक गरे । मिलन दाईको अहिले सम्मकै राम्रो सिर्जना हो, निर्माण गर्ने प्रेम दाईलाई पनि धन्यावाद । यो फिल्म हेर्न नछुटाउनु होला’, सन्दीपले भने ।
छोरीको सङ्घर्ष र सफलता देखाएको कारण उनले आफ्नो आँसु रोक्न नसकेको बताउदै गर्दा पनि भावुक बने । होलीलाई लक्षित गर्दै गत फागुन २९ देखि प्रदर्शन भएको फिल्मले शनिवार नेपालभर दर्शकको अत्याधिक साथ पाएको छ । फिल्म हेर्ने दर्शकले कप्तान सुब्बाको जीवनी देखेर भावुक भएको प्रतिक्रिया दिईरहेका छन् ।
काठमाडौँमा फिल्मले हाउसफुल व्यापार गरेपछि निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ, वितरक करण श्रेष्ठ लगायत हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए । देशभर दर्शकबाट आइरहेको प्रतिक्रियाले आफुसहित निर्माण समूह उत्साहित भएको निर्देशक चाम्सले बताए ।
उनले भने,’फिल्मले दर्शकको साथ पाएको छ, यो हाम्रो लागि सुखद खबर हो । यसको व्यापार भन्दा पनि धेरै दर्शकसम्म पुगोस् भन्ने हाम्रो उदेश्य हो । कप्तान सुब्बाले इलामदेखि काठमाडौँसम्म आउन गरेको सङ्घर्षले धेरैलाई प्रेरणा दिन्छ । यो फिल्म हेर्नेले आफ्नो सङ्घर्षलाई पर्दामा पाएकै कारण दर्शक रुनुभएको हो ।’ शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।
राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर खेलाडी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ भन्ने अभियान समेत अगाडि बढाएका छन् ।
उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए ।
फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।